दल

कांग्रेस नेता बडूले भने : प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको नेतृत्व नेपाली कांग्रेसको हो

इकागज |
असोज १४, २०८० आइतबार १८:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले प्राविधिक रूपमा प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताएका छन् । आइतबार कांग्रेस रूपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकारको नेतृत्व नेपाली कांग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको जिकिर गरे । उनले पछिल्लो सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको भन्दै अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिंसा रहेको बताए । उनले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न सकेनौँ भने कांग्रेसलाई जनताले नपत्याउने उल्लेख गरे ।


नेता बडूले गठबन्धनका कारणले पनि सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो हुने गरेको स्मरण गरे । उनले मुलुकको आर्थिक अवस्था जर्जर रहेको बताउँदै मुलुकका युवाहरू निराश मन लिएर खाडी मुलुक गइरहेका तर सरकार हेरेर मात्रै बसेको उल्लेख गरे । उनले नेपाली कांग्रेस सरकारमा छ तर जनतालाई निराशाबाट जगाउन र रोजगारी सिर्जना गर्ने काम के गर्यो भन्दै प्रश्न समेत गरे ।

उनले अहिले पनि जनताले आशा गरेको पार्टी कांग्रेस नै भएको दाबी गरे । उनले पछिल्लो समय जनताले नेताको भाषणमा अविश्वास गर्ने क्रम बढी रहेको पनि बताए । उनले नेपाली कांग्रेसको २०७९/०८० को आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्र बनाउने मुख्य नारा रहेको बताए । उनले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, आयात कमी गर्ने र सरकारले चलाएर पनि चलाउन नसकेर बन्द भएका बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्ने योजना पनि रहेको बताए ।

 

बडूले वर्तमान सरकारलाई कांग्रेसले निर्देशित गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेकाले अहिले असफल हुने छुट नभएको उल्लेख गरे ।

 


Author

थप समाचार
x