‘सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो’
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरूपयोगले समाजलाई गाँजेको बताएका छन् ।
उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गरे । लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकामा पुनले चिन्ता व्यक्त गरे । उनले कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरूप्रति भ्रम पैदा हुने गरेको बताए ।
“कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ । व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन्”, काठमाडौँको वनस्थलीमा आज हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ । तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन ।”
सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकाङ्गी धारणाको विकास हुने अवस्था सृजना हुन थालेको उनको निष्कर्ष छ ।
आलोचना गरेकै कारण नागरिकहरूलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकाङ्गी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया