दल

प्रधानमन्त्रीज्यू, हेलिकप्टरको आवाजले चर्किएका घरहरू नभत्किऊन् : रवि लामिछाने

इकागज |
असोज १९, २०८० शुक्रबार ११:४० बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बझाङका जनतालाई निरास नबनाउन आग्रह गरेका छन् । भूकम्पपछि बझाङ पुगेका लामिछानेले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै यस्तो बताएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालको शुक्रबार अवलोकनका लागि प्रभावित क्षेत्र जाने कार्यक्रम छ । लामिछानेले यसबारे आफूले थापा पाएको बताउँदै लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें । यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ । सबैका लागि पर्याप्त त्रिपाल पनि छैन । चिसो बढ्दो छ, ओढ्ने–ओछ्याउने आवश्यक छ । बच्चा र जेष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ । स्वास्थ्य चौकीहरू र शिक्षालयहरूलाई  प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपायसहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।’


उनले भूकम्पपीडितलाई अब अरु समस्याले पनि पिरोल्न थालेको बताएका छन् । भत्किएका र चर्किएका घरलाई बिस्तारै सुरक्षित आवासमा लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनु हुन आग्रह गर्दछु,’ उनले लेखेका छन्, ‘हेलिकप्टरको आवाजले चर्किएका  घरहरू नभत्किऊन्, हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँतिर पुग्नु होला ।’

उनले आफू बझाङका जनताको साथमा भएको पनि जिकिर गरेका छन् । 

सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर गत मंगलबार ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यहाँ त्यसपछि पनि पटकपटक पराकम्पन आएका थिए । 

भूकम्प र त्यसपछि गएका पराकम्पनका कारण एक जनाको मृत्यु, केही घाइते र घर, विद्यालय भवनलगायत भौतिक संरचनामा क्षति पुगेको छ । 


Author

थप समाचार
x