दल

पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाऔँ : महामन्त्री शर्मा

इकागज |
असोज १९, २०८० शुक्रबार १७:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यहरूले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफी दिन सकिने बताए । तर, परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताए ।


उनले नेपालगञ्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने बताए । उनले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहिनता बढेर जाने बताए ।

महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताए । उनले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरू रोकिने बताए । उनले संसदमा हुने सांसदहरूको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताए ।

महामन्त्री शर्माले राजनीतिकर्मीहरू आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताए ।

 


Author

थप समाचार
x