दल

राष्ट्रपतिसँग विवेकशील साझा पार्टीको भेटवार्ता, संवैधानिक संस्थाहरूको गरिमा बचाउन आग्रह

इकागज |
असोज १९, २०८० शुक्रबार २०:५१ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्वर्द्धन अभियान’ बारे जानकारी गराएको छ ।

पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र सम्वर्द्धनका लागि यसका आधार स्तम्भहरू राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरूको गरिमा बचाई राख्न गणतन्त्र विरोधीहरूको अनावश्यक प्रहार र दुष्प्रचारप्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो ।


लोकतन्त्रको संस्थागत विकास र नागरिकको सम्बृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरूको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरूलाई दलीय दुष्प्रभावबाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराइएको थियो प्रतिनिधि मण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा  ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र सम्वर्द्धन गरेर मुलुकको सम्बृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् । उनले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्तिरहेकाेमा चिन्ता प्रकट गर्दै देश मै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बसौँ-बसौँ बनाउनु आजको आवश्यकता रहेको पनि औंल्याएका थिए ।


Author

थप समाचार
x