दल

एक वर्ष लगाएर भए पनि उल्टो भएको शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा

इकागज |
असोज १९, २०८० शुक्रबार २१:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन् । उनले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताए ।


थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए । उनले वृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए । शिक्षण पेसालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उनको भनाइ छ । शिक्षकहरूको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए ।

थापाले एक वर्ष नै लागे पनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताए ।

विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्न जरुरी रहेको बताए ।

 


Author

थप समाचार
x