दल

प्रधानमन्त्री प्रचण्ड सच्चिन नसके सरकारको बाटो खालि गर्नुस् : शेखर कोइराला

इकागज |
असोज २०, २०८० शनिबार १२:२१ बजे

फाइल तस्बिर

काठमाडौं- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् ।

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई काँग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उनले जातिय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको बताए ।


‘देश अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेको छ । जताततै अराजकता छ । यो राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदाहुँदा कुटनीतिक अराजकता पनि देशमा आइसक्यो । सम्हाल्ने कसले ? नेपाली काँग्रेस बाहेक नेपालमा कुनैपनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ । तपाईहरु चिन्तित हुनुहुन्छ । अन्य पार्टीहरुको पनि कुरा गर्नुभयो यहाँ' उनले भने 'हामी सच्चियौँ, सुध्रियौँ, हामीले गाउँमा आफ्ना साथीलाई सम्झाउन सक्यौँ भने कसैलाई हराउन सक्दैन । हामी एकढिक्का हुन जरुरी छ । हामी एक्लै चुनाव लड्नुपर्छ । त्यसका लागि गोरखा काँग्रेस एक ढिक्का हुन जरुरी छ ।'

'देश अराजकताबाट गइरहेको छ । देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ । उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोेलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन । उहाँ २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो' उनले भने 'कुनैपनि जाति विशेष नेपाल छैन, बहुजातिय, बहुभाषिक छ । त्यसैले जातिय राज्य दिन सकिँदैन । त्यस्तै गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरुको लागि दुर्भाग्य हो । हाम्रो लागि दुर्भाग्य हो । कुनैपनि तरिकामा देश ठिक ढंगले अघि बढेको छैन । त्यसैले यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने  छोड्नुपर्छ । अर्को विकल्प छैन । काँग्रेसले मात्रै यी अराजकताहरुलाई समाप्त गर्नसक्छ ।’

नेता कोइरालाले काँग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।


Author

थप समाचार
x