दल

देशलाई बचाउने र बनाउने भए निर्णायक आन्दोलनको तयारीमा जुटौँ : कमल थापा

इकागज |
असोज २०, २०८० शनिबार १५:१३ बजे

ललितपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । 

आज पार्टीको ललितपुर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका छन् ।


अब राजासहितको प्रजातन्त्र, सर्ब धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आवश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिवर्तन र कुशासनको अन्त्यका लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सँगै आन्दोलनको व्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरेका छन् । 

मुलुकमा रहेको ब्रम्हलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरूको सेण्टिकेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । कार्यक्रममा महामन्त्री भास्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसीलगायत भातृ संगठनका प्रमुखहरूले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x