कांग्रेसको शंका : विद्युत् विधेयकले निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि ?
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघीय सांसद, विज्ञ र सरोकारवाला निकायसँग छलफल गरेको छ । आइतबार बिहान संसद् भवनमा नेपाली कांग्रेसको संसदीय दलको आयोजनामा प्रतिनिधि सभामा विचाराधीन विद्युत् विधेयक, २०८० बारे संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) सदस्य विज्ञ र सरोकारवाला निकायसँग छलफल भएको हो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले विधेयक निर्माण गर्ने क्रममा संलग्न भएको सरकारका पदाधिकारी आमन्त्रित गरी छलफल गर्ने र विधेयकबारे धारणा बनाउने बताए । उनले अहिलेको विधेयकले फेरि निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि भन्ने चिन्ता व्यक्त भएको बताए । उनले विद्युत् ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव दिए ।
‘विद्युत् सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । अब हाम्रो अर्थतन्त्र नै वास्तवमा विद्युतसँगै सम्बन्धित छ । बढीभन्दा बढी विद्युत् उत्पादन गरी त्यसलाई निर्यात गर्नसके बल्ल अर्थतन्त्र उकास्ने स्थिति छ । मुलुकको आर्थिक पक्षका लागि पनि सबैभन्दा महत्वपूर्ण विधेयक भएको हुनाले हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ,’ उनले भने, ‘केही विशेषज्ञ र विज्ञ साथीहरू र सरोकारवालाहरूसँग हामीले छलफल गरेका छाैँ । अब मंगलबार फेरि हामी ११ बजे खासगरी यो विधेयक निर्माण गर्ने क्रममा संलग्न हुनुभएको सरकारका पदाधिकारीसँग पनि आमन्त्रित गरेर छलफल गर्नेछ र सरकारका कुरा सुनेर नेपाली कांग्रेसले यसका बारेमा धारणा बनाउने, संशोधन हाल्न सहजीकरण गर्नेगरी छलफल गरिरहेका छौँ । यसमा मूलतः निजी क्षेत्रले लगानी गरिरहेको छ । धेरै ठूलो लगानी यो क्षेत्रमा छ । जति विद्युत् उत्पादन गरिरहेका छाैँ । यसमा पनि ठूलो हिस्सा प्राइभेट सेक्टरको नै छ ।’
उनले अगाडि भने, ‘अहिलेको यो विधेयकले फेरि निजी क्षेत्रलाई विस्थापित गर्ने हो कि ? भन्ने चिन्ता व्यक्त भएको छ । विज्ञ साथीहरूले पनि यो भन्दा पहिलाको विद्युत् ऐन, २०४९ र अहिलेका संशोधनका बीचमा कस्ता अन्तर छन् र यसलाई कसरी राम्रो बनाएर लैजान सकिन्छ ? भन्ने राख्नुभएको छ । विद्युत् उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नु छ भने आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर जानुछ । विद्युत् उत्पादनसँगै वितरणको विषय पनि छ । जनतालाई पनि गुणस्तरीय विद्युतको वितरण र कमसेकम मूल्यमा विद्युतमाथि जनताको पहुँच कसरी सुनिश्चित हुन्छ ? भन्ने हेर्न जरुरी छ ।’
प्रमुख सचेतक लेखकले विद्युत् उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नुका साथै आन्तरिक रूपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर लैजानुपर्ने बताए । कमभन्दा कम मूल्यमा विद्युतमाथि जनताको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया