दल

भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन भएन : झलनाथ खनाल

इकागज |
असोज २१, २०८० आइतबार १८:१७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले अभियान सुरु गरेपछि विभिन्न प्रकरणहरू बीचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे ।


समाजमा दलाल पुँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टाचार अन्त्य हुन नसक्ने उनको भनाइ छ । खनालले अर्धसामन्ती व्यवस्था र अहिलेको पुँजीवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजबिना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुँदा युवा शक्तिहरू विदेशी भूमिमा पलायन हुनु परेको बताउँदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

खनालले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे ।


Author

थप समाचार
x