दल

इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने माओवादी संसदीय दलकाे निर्णय

इकागज |
असोज २२, २०८० सोमबार १५:३५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले इजरायलमा मृत्यु भएकाहरूको शव छिटो ल्याउन र नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि सरकारसमक्ष पहल गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले इजरायल घटनामा घाइतेको उचित उपचार र मृत्यु भएकाको शवका साथ उद्धारका लागि पर्खाइमा रहेका नेपालीहरूलाई छिटो स्वदेश ल्याउन आवश्यक तयारी भइरहेको जानकारी गराएका थिए ।


त्यस्तै संसदीय दलको बैठकले शिक्षा सम्बन्धी विधेयकमा गठबन्धनबीच छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले सरकारको निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव नेपाल आउने र आगामी २७ गते शनिबार संघीय संसद्लाई सम्बोधन गर्ने भएकाले आवश्यक तयारी गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले संसद्को चालू अधिवेशनको अन्त्यपछि पार्टीका सांसदहरू आफ्नो कार्यक्षेत्रमा गएर सरकारले गरेका कामहरूलाई जनतामाझ जानकारी गराउने निर्णय पनि गरेको पाण्डले बताए । 


Author

थप समाचार
x