दल

रास्वपा बाहेकका दलहरूमा राणा शासन कायम छ : सभापति लामिछाने

इकागज |
असोज २५, २०८० बिहीबार १४:५७ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताएका छन् ।​​ बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरूमा राणा शासन कायम रहेको बताउनुभएको हो ।

सभापति लामिछानेले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताए । उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे । उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने जिकिर गरे ।


त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दूतावासले गैर आवासीय नेपालीहरूले जति पनि काम गर्न नसकेको बताए ।

सभापति लामिछानेले गैर आवासीय नेपाली संघको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पारे । पार्टीका नेताहरू कुनै उम्मेदवारको पक्षमा लागेको पाइएमा कारबाही हुने उनले बताए ।

सभापति लामिछानेले विदेशमा भएका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न सरकार उदासीन देखिएको बताए । उनले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको बताए । उनले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरू जोडतोडका साथ लाग्ने बताए ।

सभापति लामिछानेले गैर आवासीय नेपालीहरूले नेपालमा सहज रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताए । त्यस्तै लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x