दल

शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय हुन्छ : कांग्रेस

इकागज |
असोज २६, २०८० शुक्रबार १८:३७ बजे

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए ।


बैठकमा सभापति देउवाले नेता कोइरालासँग सहमति जुट्ने नेताको नाम मागेको पनि उनले बताए । उनले गठबन्धन अघि बढ्ने र गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरूलाई कसरी सजिलो बनाउने ? भन्नेबारेमा बैठकमा छलफल भएको बताए । उनले गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको जानकारी दिए । २०५१ को अवस्था नै अहिले दाेहोरिएको उनकाे भनाइ थियाे ।

नेता विश्वकर्माले कोशी प्रदेशमा कांग्रेसका नेताहरूले गरेको विद्रोहलाई सामान्य रूपमा लिन नहुने बताए ।

बैठक शनिबार पुनः बस्ने छ ।  


Author

थप समाचार
x