अर्थतन्त्रलाई चलायमान बनाउन सरकारबाट कुनै निर्णय हुन सकेन : कांग्रेस सहमहामन्त्री पाण्डे
बुटवल- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सरकारले जनतामा आशा पलाउने खालाका काम थाल्नै नसकेको बताएका छन् । उनले दिन प्रतिदिन गिर्दै गएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारबाट कुनै निर्णय हुन नसकेको टिप्पणी गरे ।
रिपोर्टस् क्लबले बुटवलमा शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले देशलाई आर्थिक सबलीकरणमा लैजान लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय देशमा दक्ष जनशक्तिहरू बाहिरिँदै जानु राज्यका लागि गम्भीर कुरा भएको उल्लेख गरे । उनले भने, 'देशको महत्वपूर्ण शक्ति युवाहरू विभिन्न नाममा बाहिरिनु दु:खद कुरा हो । उनले जनतामैत्री, विकास र समृद्धितर्फ देश जान नसकेकाले जनतामा निराशा छाउँदै गएकोले त्यसतर्फ सत्ता र प्रतिपक्ष दलले महत्वपूर्ण कदम चाल्नुपर्ने समय आएको बताए ।
सहमहामन्त्री पाण्डेले कोशी प्रदेशमा देखिएको समस्या कांग्रेसको आन्तरिक घटनाक्रमले बढेकाले कुनै पार्टीको बहुमत नभएकाले उक्त प्रदेशमा राजनीतिक किचलो बढेको बताए । उनले प्रदेशको समस्यालाई समाधान गर्न जटिल परिस्थितिमा प्रदेश प्रमुखले कानुनी परामर्श र कानुन बमोजिम निकास दिनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई छिटोभन्दा छिटो सरकारलाई पूर्णता दिन अगाडि बढ्न आग्रह गर्दै प्रदेश सञ्चालन गर्न संघबाट कुनै रोकतोक नभएको स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया