दल

राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्वपूर्ण हुनुपर्छ : ओली

इकागज |
असोज २७, २०८० शनिबार १४:२६ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभइ दीर्घकालीन राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।


अध्यक्ष ओलीले कुनै पनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए । उनले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताए ।

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गरे । सम्मेलनमा दिगो पर्यटन प्रवर्द्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एशियाली राजनीतिक दलका नेताहरू सहभागिता रहेको छ ।


Author

थप समाचार
x