ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईँकै नेतालाई भोट दिने भोटर कस्ता ?
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् ।
मंगलवार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् ।
सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईँकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहिँ कस्ता ? भन्ने प्रश्न गरे ।
उनले भने, ‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन् भने जनता पनि कस्ता ? यो नयाँ दलको नीति, विचार केही पनि छैन । सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ । तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौती दिएको मैले यदाकदा सुन्ने गरेको छु । हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईँकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहिँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु । आम जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौँ न भनेर हामीलाई ह्वारह्वारती भोट दिएको पनि होइन । उपनिर्वाचनबाट २१ सिट पुर्याएका त हौँ नि । जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत पनि छैन ।’
सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया