दल

देशलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ : उपमहासचिव शर्मा

इकागज |
कात्तिक १, २०८० बुधबार १५:२२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।​ बुधबार नेकपा (माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दसैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।

उनले पार्टीहरूका बीचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने जिकिर गरे । उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताए ।


दलहरूका बीचमा आपसी गालीगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए । उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे । उनले पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याइने पनि बताए ।

उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारलाई पनि साधन, स्रोत थप गरेर अझै बलियो बनाउनुपर्ने बताए ।

उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने बताए । प्रदेश सरकारका मातहतका संरचनाहरूलाई पनि कम गर्नुपर्नेमा उनले जोड दिए ।

 


Author

थप समाचार
x