शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छ : महासचिव पोखरेल
तुलसीपुर (दाङ)- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए ।
'सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो,' महासचिव पोखरेलले भने ।
उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।
उनका अनुसार यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको छ । त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा पनि सञ्चालन भइरहेका छन् । हाल दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन् । प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए । रु एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यससँगै विद्यालयमा सातवटा भवन रहेका छन् । जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया