देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति
काठमाडौँ- राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारूढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विदेश पलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनि अभिव्यक्ति दिएको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले आपत्ति जनाउँदै देउवाको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको बताएका छन् ।
हरेक युवामा आफ्ना छोरा जयवीर देउवाको छवि देख्न नसक्नु शेरबहादुरको डरलाग्दो कमजोरी रहेको भन्दै उनले आफूहरूले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो देखिएकाले अब संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने बताएका छन् ।
‘देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहुँजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि ‘रहर पुगेपछि फर्कने’ भनि दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरूले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ । हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।’
दुबई, कतार, मलेसिया, सिंगापुरजस्ता देश बनाउन सक्ने संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने भन्दै उनले भनेका छन्, ‘दुबई, कतार, मलेसिया, सिंगापुर जस्ता देशहरू बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन् । आफ्नो देश बनाउनबाट तिनलाई कसले वञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२/६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरूलाई धारेहात लगाउनुपर्ने हुन्छ । हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजून् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया