दल

पार्टी एकतामा जोड दिन एमाले नेता-कार्यकर्तालाई ओलीको निर्देशन

इकागज |
कात्तिक १३, २०८० सोमबार १९:२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।​ सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता-कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न सचेत गराएका हुन् ।

अध्यक्ष ओलीले कम्युनिष्ट आचरण र अभ्यासबिना पार्टीलाई एकताबद्ध बनाउन नसकिने भएकाले त्यस कुराको ख्याल गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । घमण्डले पतनको बाटोमा लैजाने उल्लेख गर्दै उनले सो बाटोमा जान नहुनेतर्फ पनि नेता-कार्यकर्ताहरूको ध्यानाकर्षण गराए ।


अध्यक्ष ओलीले एमालेले 'समृद्ध नेपाल : सुखी नेपाली' को राष्ट्रिय संकल्प लिएकाले त्यसलाई पूरा गर्न सिंगो पार्टी परिचालित हुनुपर्ने बताए ।

‘पार्टीमा तीन वटा कुराको आवश्यकता छ । एउटा, एकता । दोस्रो पनि एकता नै हो । र, तेस्रो पनि एकता । अथवा तीन वटा कुरा चाहिन्छ हामी सफल हुन र सबल हुन् । त्यो हो–एकता, एकता अनि एकता । त्यसकारण हाम्रो कमरेडहरूलाई म सुझाव दिन चाहन्छु–एकतामा जोड दिनुस्,' उनले भने, 'एकतामा जोड दिन, कम्युनिष्ट आचरण र अभ्यासबिना एकतामा जोड दिन सकिँदैन ।’

अध्यक्ष ओलीले एमालेले विपक्षमाथि निषेध र दमनको राजनीति नगरेको दाबी समेत गरे । 


Author

थप समाचार
x