दल

पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : केपी ओली

इकागज |
कात्तिक १६, २०८० बिहीबार २१:१ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने स्पष्ट पारेका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रूपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका हुन् ।


हिंसा सुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ति जनाए । उनले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिए । त्यस्तै ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई ध्वस्त पारेको आरोप लगाए ।

बहुमतका आधारमा संसदलाई पङ्गु बनाउने काम भएको र मिटरब्याजी कानुन बाहेक अरु केही काम हुन नसकेको उनको भनाइ छ । उनले वर्तमान सरकार संविधानविपरीत चल्ने स्वेच्छारी भएको र राजनीतिक तथा संवैधानिक हिसाबले भ्रष्ट भएको जिकिर गरे ।

ओलीले एमाले बाहेक अरु कसैको नेतृत्वमा देशको विकास सम्भव नरहेको भन्दै मिसन ८४ मा ध्यान केन्द्रित गर्न सांसदहरूलाई निर्देशन दिए । 


Author

थप समाचार
x