प्रधानमन्त्रीले भूकम्प पीडितको राहतका लागि तत्काल मन्त्रिपरिषद् बैठक बोलाउनुपर्छ : महासचिव विप्लव
काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरूलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीका महासचिव विप्लवले भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाई नगर्न सरकारसँग माग गरेका हुन् । त्यसैगरी उनले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लैको सक्रियताभन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउने काममा ढिलाई गर्न नहुने तर्क गरे । उनले विपद् ग्रस्त क्षेत्रमा स्वयंसेवकको रूपमा छिटोभन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यान्न, लत्ताकपडा र टेन्टहरूको व्यवस्था गर्न र घाइतेहरूको उपचारका लागि स्थलगत रूपमै स्वास्थ्यकर्मीहरूको परिचालन गर्न पनि सरकारसँग माग गरे ।
सो पार्टीले भूकम्प पीडितका लागि सरकारको राहत कोषमा एक लाख जम्मा गरिदिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी २५ क्वीन्टल चामल पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पनि महासचिव विप्लवले बताए । उनका अनुसार पार्टीले विपद् ग्रस्त क्षेत्रमा आजैबाट स्वयंसेवकको रूपमा पार्टीका नेता, कार्यकर्ता परिचालन गरिसकेको छ ।
त्यसैगरी स्वास्थ्यकर्मीको एउटा टोलीलाई पनि विपद् ग्रस्त क्षेत्रतर्फ पठाइएको महासचिव विप्लवले बताए । भोलि (आइतबार) स्वास्थ्यकर्मीहरूको अर्को टोली पनि पठाउने सो पार्टीले जनाएको छ ।
रुकम पश्चिम र जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पले ठूलो क्षति गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया