दल

भूकम्प पीडितका लागि सरकारले कार्यक्रम ल्याउनुपर्छ : प्रदीप पौडेल

इकागज |
कात्तिक १८, २०८० शनिबार २१:५२ बजे

​दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको उद्धार, राहत र सहयोगका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं २ समितिले आज दुलेगौडामा आयोजना गरेको श्रद्धाञ्जली सभामा सांसद पौडेलले भूकम्प पीडितलाई अहिले सहयोगको खाँचो रहेको भन्दै सरकारका तर्फबाट विशेष कार्यक्रम घोषणा हुनुपर्ने बताए ।


संघीयता खर्चिलो भयो भनेर टीका–टिप्पणी भइरहेका बेला विपद्को यो घडीमा सबै प्रदेश सरकारले सहयोगको हात अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए । 'स्थानीय तहले पनि पीडितले महसुस हुने गरी सहयोग गर्नुपर्छ,' सांसद पौडेलले भने ।

भूकम्प पीडितको उद्धार र राहतका लागि नेपाली कांग्रेसका तर्फबाट ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा भइसकेको भन्दै उनले थप सहयोग जुटाउन आफूहरू लाग्ने जिकिर गरे । उनले भने, 'एक नेपालीलाई चोट लाग्दा अर्को नेपालीलाई दुख्छ । हामी सबैले सहयोग जुटाएर पीडामा मल्हम लगाउने कोसिस गरौँ ।'


Author

थप समाचार
x