दल

रास्वपाद्वारा मधेशमा तय बैठक स्थगित

इकागज |
कात्तिक २०, २०८० सोमबार १५:५६ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशमा तय गरेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । शुक्रबार जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण बैठक स्थगित भएको रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक यही कात्तिक २२ र २३ गतेलाई तोकिएको थियो । 

‘अहिले हामी भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा लागेकाले बैठक स्थगित गरियो,’ इकागजसँग उनले भने । 


सहमहामन्त्री बुर्लाकोटीले अर्को बैठक सम्भवतः तिहार र छठपछि बस्ने जानकारी पनि दिए । 

रास्वपाले केही महिनायता देशव्यापी रूपमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विचार–विमर्श गरिरहेको छ । मधेशमा बस्ने भनिएको बैठकमा पनि यसै मुद्दामा बहस गर्ने कार्यसूची थियो । 

शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् ।

पीडितलाई राहत तथा उद्धारका लागि अहिले पार्टी सभापति रवि लामिछानेसहित महामन्त्री भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । 


Author

थप समाचार
x