सर्वदलीय बैठक
गणतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता
काठमाडौँ- प्रमुख दलका शीर्ष नेताहरुले एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको बाह्र बुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताहरूको बैठकले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका हुन् ।
गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता सबै दलका नेताहरूले जनाएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जानकारी दिए । संविधान, गणतन्त्रप्रति सबैको एउटै प्रतिबद्धता आएको उनले बताए । उनले मुलुकको परिवर्तनको अवस्थाका बारेमा समीक्षा गर्नका लागि सबै दलहरूसँग छलफल गरेको र आगामी दिनमा निरन्तर छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाह्र बुँदे सहमतिमा दलहरू एकजस्तै जनताको व्यवस्थालाई रक्षा गर्न पार्टीहरूको बीचमा एकता र सहकार्य आवश्यक रहेकोमा जोड रहेको बताए । अहिलेको व्यवस्थामा परिवर्तनको नभइ सुधारको आवश्यकता रहेको उनले बताए ।
त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले सरकारको अकर्मण्यताका कारण व्यवस्थामा चुनौती खडा भएको, गृहप्रशासन मुकदर्शक भएको लगायतका विषयमा ध्यानाकर्षण गराएको बताए । मुलुकको व्यवस्थाप्रति जनतालाई भड्काउने कामलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा एमालेको जोड रहेको उनको भनाइ छ । उनले सामाजिक सञ्जाललाई दुरुपयोग हुन नदिन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुर्याउने गरी भूमिका निर्वाह गर्न पनि सुझाव दिइएको बताए ।
बैठकमा शीर्ष नेताले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढङ्गबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका थिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया