दल

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काममा सरकार कमजोर देखियाे : रास्वपा

इकागज |
कात्तिक २३, २०८० बिहीबार १९:२ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत वितरणको काममा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार काठमाडौँमा बसेको रास्वपा संसदीय र केन्द्रीय समितिको संयुक्त बैठकले राहत वितरणको काम प्रभावकारी नहुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा परेको भन्दै तीनै तहको सरकारबीच आपसी समन्वय बढाउँदै प्रभावकारी रूपमा राहत वितरणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो । भूकम्पपछिको उद्धार काममा सरकारको सक्रियता देखिए पनि त्यसपछिको राहतको काममा भने सरकार कमजोर देखिएको रास्वपाको ठहर छ ।


बैठकपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले न्यायोचित रूपमा राहत वितरण गरेर जनतालाई जाडोबाट जोगाउनका लागि सरकारले व्यवस्थापन गर्नुपर्ने र प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन पनि सरकार गम्भीर हुनुपर्ने बताए । त्यस्तै बैठकले आगामी केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्ने निर्णय गरेको छ ।

आगामी मंसिर ११, १२ र १३ गते जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने ढकालले जानकारी दिए । त्यस्तै बैठकले मंसिर २ देखि ४ गतेसम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको प्रवक्ता ढकालले बताए ।


Author

थप समाचार
x