दल

संविधान कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढ्याे : चन्द्र भण्डारी

इकागज |
मंसिर १, २०८० शुक्रबार १८:४२ बजे

बुटवल-  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले सही ढंगले संविधान कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढेको बताएका छन् । रूपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव २०८० को उद्घाटन गर्दै नेताले नै यसको जिम्मेवारी लिनुपर्ने उनले बताए ।

भण्डारीले निकै दुःख गरेर ल्याइएको संविधान कार्यान्वयन गर्न नसकिएको स्वीकार समेत गरे । उनले जनताको पहुँच पुर्‍याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आइरहेको जिकिर गरे ।


उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउँदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसकिने देखिएको भनाइ राखे ।

सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै भण्डारीले देशको यही अवस्थाका कारणले नेपाली विदेशिने क्रम बढेको उल्लेख गरे ।

नेता भण्डारीले दुःख पर्दा सरकार बोल्नुपर्ने भन्दै दुःख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको टिप्पणी गरे ।


Author

थप समाचार
x