दल

काँग्रेस पदाधिकारी बैठकः  भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल

इकागज |
मंसिर ४, २०८० सोमबार १३:५१ बजे

काठमाडौँ - नेपाली काँग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ । 

सोमबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताए । उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताए । उनले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरुले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पनि छलफल भएको बताए । 


उनले भने, ‘भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिममा जुन भूकम्पबाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भयो । थप समसामयिक विषयमा पनि छलफल भयो । भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासको लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धितकोमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरुलाई परिचालन गर्ने कुरा भएको छ ।’

मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताए । उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए । उनले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताए । 

अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरू पनि लड्न तयार रहेको बताए । 


Author

थप समाचार
x