दल

नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैन : मन्त्री महत

इकागज |
मंसिर ५, २०८० मंगलबार १५:२ बजे

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् ।​ मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने जिकिर गरे । उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू-भाग जङ्गलका रूपमा स्थापित गरिरहेको बताए ।


अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारी साधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शंका नराख्न आग्रह गरे । उनले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए ।

महतले विकसित देशले उत्सर्जन गरेको कार्बनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताए । उनले नेपालका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले भएको भन्दै विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नका लागि आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तन न्युनिकरणको लागि विभिन्न फण्डहरूबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताए ।

उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरूबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्ने भन्दा पनि कार्यक्रम ल्याउन आग्रह गरे । उनले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताए ।

 

 


Author

थप समाचार
x