दल

दुर्गा प्रसाईंको आन्दोलनमा कमल थापाको समर्थन

इकागज |
मंसिर ८, २०८० शुक्रबार ८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । 

बिहीबारदेखि काठमाडौँमा ‘व्यवस्था बिरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन् ।


‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौँमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्, ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु ।’

बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाइतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।

‘साथै, आगामी दिनहरूमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र विद्यार्थीहरूको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन सञ्‍चालन गर्न आयोजकहरूमा अनुरोध गर्दछु,’ उनको आग्रह छ, ‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरू हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ ।’


Author

थप समाचार
x