दल

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

इकागज |
मंसिर ८, २०८० शुक्रबार १५:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए ।


'दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो । आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने । 

ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे । 'दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन् । उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका हुन् । यसमा राजाको पनि अप्रत्यक्ष साथ होला । तर, बढी भूमिका प्रचण्ड-ओलीकै छ,’ उनले भने ।

सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिस्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ ।

'ओलीले वर्तमान सत्ताका खिलाफमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ । प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन् । प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन्,’ उनले भने ।

प्रचण्ड र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलाफमा जान नसक्दा अराजकताले प्रशय पाइराखेको महरले बताए ।

केही अराजक तत्त्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलाफमा बलियो गरी उभिनुपर्ने बताए ।

'कांग्रेस पनि सुध्रिनुपर्ने छ । हाम्रा कमी कमजोरी छन् । कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ । जनताका लागि काम गर्नुपर्छ । प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ । यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,' उनले भने ।

१८/२० वर्ष पहिले नेपालको परिस्थिति एकदमै जरजर रहेकोमा कांग्रेसको नेतृत्वमा हाल प्राप्त उपलब्धिलाई गुम्न नदिन सबै जागरूक हुनुपर्ने महरले बताए । 'जनता हिंसा, हत्या र आतंकको त्रासमा बाच्नुपर्ने अवस्था हामीले अन्त्य गरेका छौं । कांग्रेसकै नेतृत्वमा मुलुक सफल संघीयताको अभ्यासमा गएको छ । संविधान पाएका छौं । मुलुक शान्तिप्रक्रियामा छ । यो उपलब्धिको हामी सबैले रक्षा गर्नुपर्छ,' उनी भन्छन् ।


Author

थप समाचार
x