दल

विकसित देशले हिमाल बचाउने दायित्व लिनुपर्छ : ओली

इकागज |
मंसिर ८, २०८० शुक्रबार १७:३३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्न पर्ने विचार व्यक्त गरेका छन् । 

पार्टीको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप-२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीय संकट निम्तिन सक्ने बताउँदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए ।


'हिमाललाई तीव्र असर पुर्‍याउने काम विकसित देशले गरिरहेका छन् । त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला आएको छ,' उनले भने ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कूटनीतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताउँदै देशले संयुक्त रूपमा समस्या समाधान गर्ने आवाज उठाउनु पर्ने बेला आएको जोड दिए ।

पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा डा महेश्वर ढकाल नवराज पुडासैनी लगायतले आ-आफ्नो विचार राखेका थिए ।


Author

थप समाचार
x