दल

कांग्रेस नेताहरूको अठोट : व्यवस्था हैन नेतृत्व फेरेर अवस्था सुधार्छौं

इकागज |
मंसिर ९, २०८० शनिबार १८:५३ बजे

गुल्मी- नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको नेतृत्व फेरेर देशको अवस्था फेर्ने अठोट व्यक्त गरेका छन् । नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रभावशाली नेता डा. चन्द्र भण्डारीलगायतले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिए ।

उनीहरूले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधार तर्फ लाग्नु पर्ने बताए ।


महामन्त्री थापाले मूर्ति चोर्नेले हाम्रो धर्म जोगाइदिन्छ भन्दै भ्रममा परेकाहरूलाई कांग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याए । उनले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरू प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दाबी गरे ।

महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गरे । उनले कांग्रेसभित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथि हेर्ने प्रवृत्ति रहेकाले अबदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धति बसाल्नु पर्नेमा जोड दिए । 

अर्का प्रभावशाली नेता डा. भण्डारीले पनि कांग्रेसको र गणतन्त्रको विकल्प नभई बुढा नेताहरूको विकल्प खोज्ने बेला भएको धारणा राखे । उनले उमेरका कारण धेरै काममा समस्या हुने गरेको उदाहरण दिँदै विकल्प खोज्नेहरूको भावना अनुसार आफूहरूले काम गर्न सक्ने दाबी गरे ।

गुल्मीका सांसद समेत रहेका नेता भण्डारी गत फागुन ३ गते आगलागीमा परी घाइते भएपछि पहिलो पटक हिजो गृहजिल्ला आएका हुन् । उनले घाइते भएर मृत्युसँग अस्पतालको शय्यामा छटपटाइरहेका बेला गुल्मेली जनताको सम्झनाले आफूलाई जुरुक्क उठाएको अनुभव पनि सुनाए । 

गुल्मी कांग्रेसको जिल्ला सम्मेलनमा भोलि बन्दसत्र चल्ने सचिव जगदीश भट्टराईले जानकारी दिए ।


Author

थप समाचार
x