दल

एमालेकाे प्रष्टीकरण: मध्यावधि चुनाव हाम्रो एजेण्डा होइन

इकागज |
मंसिर १५, २०८० शुक्रबार ११:२७ बजे

फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यावधि निर्वाचन आफ्नो एजेण्डा नभएको जिकिर गरेको छ । एमाले सचिव योगेश भट्टराईले हाललाई मध्यावधि चुनाव पार्टीको अजेण्डा नभएको बताए । 

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नामक अभियानका लागि डडेल्धुरामा रहेका भट्टराईले इकागजसँगको संक्षिप्त कुराकानीमा यस्तो प्रष्टीकरण दिए । 


‘मध्यावधि चुनाव हाम्रो अहिलेको अजेण्डा होइन । अध्यक्षज्यूले यो सरकारको कामै छैन, त्यसैले अब नयाँ जनादेशमा पनि जानुपर्ने हुनसक्छ भनेर सचेत गराउने सन्दर्भमा त्यस्तो भन्नुभएको हो,’ उनले भने । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ मंसिरमा च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा सबैलाई मध्यावधि चुनावमा जान तयार रहन बताएका थिए । ‘देशमा जुन खाले राजनीतिक, सांस्कृतिक र आर्थिक विचलन बढ्यो, त्यसलाई हेर्ने हो भने हामी मिसन ८४ भन्दै टुलुटुलु हेर्दै बस्ने कुरा आउँदैन,’ बैठकमा ओलीले भनेका थिए, ‘सत्ता गठबन्धनले यसैगरी असक्षमता देखाउँदै गयो भने हामी मध्यावधि चुनावसम्म जानलाई पनि तयार हुनुपर्ने हुन्छ ।’

उनको अभिव्यक्तिले राजनीतिक वृत्त तरंगित भएको थियो । ओलीको अभिव्यक्तिलाई लिएर अहिले विभिन्न दृष्टिकोणबाट टीकाटिप्पणी भइरहेका छन् । 


Author

थप समाचार
x