दल

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैनः उपप्रधानमन्त्री खड्का

इकागज |
मंसिर १५, २०८० शुक्रबार १२:५९ बजे

फाइल तस्बिर

काठमाडौँ - उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको बताए । उनले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताए । उनले मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको पनि बताए । अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइ नसकेको उल्लेख गरे । 


उनले भने, ‘अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको विषय हामी सबैका लागि जानकारी नै छ । सानो अर्थतन्त्र भएको नेपाल हामी पनि यसबाट अछुतो हुन सकेका छैनौँ । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रित गर्नुपर्ने खाँचो छ । बढ्दो आयात र घढ्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सधैँ दबाबमा परिरहेको छ । विविध समस्याहरु हामी सामना गरिरहेका छौँ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्छ । त्यसका लागि हामी सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गर्नुपर्ने आवश्यकता छ । मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति छ । यो सुखद् कुरा पनि हो । यसो भएपनि अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइसकेका छैनन् ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको बताए । उनले यो शासन प्रणालीको विकल्प नरहेको बताए ।  वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने बताए । उनले गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको बताए । उनले शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई  दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘हजारौं नागरिकको बलिदान र लामो समयको राजनीतिक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा संसारभरको प्रयोगबाट देखिएको छ, यो शासन प्रणालीमा मुलुकको उन्नति, प्रगति गर्ने क्षमता अन्य प्रणाली भन्दा उन्नत छ । यो प्रणालीमा आम जनताको, आम नागरिकको सरकार सञ्चालनका सबै तहमा समावेशी प्रतिनिधित्व, प्रत्यक्ष प्रतिनिधित्व र सबै खालका जनसंख्याको सबै तहमा प्रत्यक्ष प्रतिनिधित्वसहितको शासन सञ्चालनमा नागरिकको प्रत्यक्ष आफ्ना प्रतिनिधिहरुमार्फत पहुँच हुने तुलनात्मक रुपमा संसारको सबैभन्दा उन्नत प्रणाली हामीले हाम्रो मुलुकको संविधानमार्फत स्थापित गरेका छौँ । त्यसैले हामीले भन्न सक्नुपर्छ, यो शासन प्रणालीको विकल्प छैन । तर यो शासन प्रणालीलाई अघि बढाउँदा हामी जिम्मेवारीमा बसेकाहरुले हाम्रा कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याएर, सुधारेर तिनकै कारणले अन्यत्र गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्नेकुरालाई हामी सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी छ । जवाफ दिने क्रममा हाम्रा शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई  दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्छ ।’

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका खड्काले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा सरकारले गरेको बताए । उनले घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रुपमा नै कदम चालिसकेको बताए । कार्यवाहक प्रधानमन्त्री खड्काले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको बताए । 


Author

थप समाचार
x