दल

संगठन विस्तारमा जुट्दै जनमत पार्टी

आगामी वैशाखसम्ममा प्रदेश अधिवेशन टुंग्याउने

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:३४ बजे

काठमाडौँ- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाखसम्ममा आफ्नो पार्टीको संगठन विस्तार र अधिवेशन गर्ने निर्णय गरेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले संगठन विस्तार र पार्टीको प्रदेश अधिवेशन आगामी वैशाखसम्म टुंग्याउने निर्णय गरेको बताए ।

‘हामीले अहिले संगठन विस्तारको कामलाई प्राथमिकतामा राखेका छौं,’  उनले भने, ‘प्रदेशसम्मको अधिवेशन पनि वैशाखसम्ममा टुंग्याउने निर्णय पार्टीले गरेको छ ।’


नेता खानका अनुसार जनमत पार्टीले आगामी मंसिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन पूरा गर्ने छ । माघ १५ देखि फागुनसम्म सबै पालिको अधिवेशन सकिने गरी काम अगाडि बढेको उनले जानकारी दिए । त्यस्तै आगामी फागुन २० गतेसम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्याइ गरिएको अधिवेशनको जानकारी पार्टीको केन्द्रीय सचिवालयमा पुर्याइसक्ने योजना भएको नेता खानले बताए ।

पालीका स्तरको अधिवेशन सकिएपछि आगामी चैत ३ गते जिल्ला अधिवेशन र वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको नेता खानले जानकारी दिए । अहिले पार्टीले आफ्ना पुरानो सदस्यको सदस्यता नवीकरण र नयाँ सदस्यताको वितरण गरिरहेको समेत उनले बताए । प्रदेशको अधिवेशन सकिएपछि मात्रै केन्द्रीय अधिवेशनबारे निर्णय हुने नेता खानले जानकारी दिए । 


Author

थप समाचार
x