झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस्
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् ।
बिहीवार पर्वतमा मेची—महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही पहिचानवादीहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरूलाई बुद्धि सच्याउन आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने कुरा सिकाउन आवश्यक नरहेको जिकिर गरे । उनले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ती नलगाउन चुनौती दिए । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरूको सामना गरेर अघि बढ्ने चेतावनी दिए ।
उनले भने, ‘सबै फलेको फुलेको छ, छोरी, ज्वाईं, नाति नातिना सबै फलेको फुलेको छ । जनता, लडाकू, घाइते, शहीद, शहिदका परिवार बिर्सिएका छन् यिनीहरुले । आफ्ना निम्ति फलिफाप भएको छ । अर्को प्रकारले पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन् । अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु, वितण्डा मच्चाउनलाई ठूलो तत्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खल्बल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरु लागिरहेका छन् । उनीहरुले भनिरहेका छन्, नेकपा एमालेको यो झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश एकमा प्रवेश गर्न दिन्नौँ । किन नदिने ? नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? नेकपा एमाले त प्रदेश एकमा पनि छ । खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरू हामीले धेरै देखेका छौँ । यस्तो फुर्ति नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिटै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकू, घाइते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए । अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरू फेरि उठ्न थालेको बताए । उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया