देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँ : अध्यक्ष वैद्य
फाइल तस्बिर
काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।
बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरू असक्षम र संकटग्रस्त बन्दै गएको बताएका हुन् । उनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने जिकिर गरे ।
उनले सरकारले संघर्षका उपलब्धिहरूको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताए । त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जन संविधान निर्माणका लागि आधार तयार पार्ने उनले बताए ।
अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तात्कालिक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पारे । उनले अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गरे ।
अध्यक्ष वैद्यले राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा भएको भन्दै त्यो यात्रा अस्वीकार्य रहेको बताए । त्यस्तै सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेका उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया