दल

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा

इकागज |
मंसिर २४, २०८० आइतबार १४:४५ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरू नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको भनाइ राखे ।


अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने जिकिर गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको पनि उल्लेख गरे । अबको विकल्प राजसंस्थासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ । उनले यसको निम्ति सम्पूर्ण जनताहरूलाई सडकमा आउन समेत अपिल गरे ।

यस्तै थापाले राप्रपा नेपाल संगठनात्मक रूपमा कमजोर भएको दाबी गरे । अझै पनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरू पनि अपेक्षाकृत रूपमा सक्रिय हुन नसकेकाे उनकाे भनाइ थियाे । भातृसंस्था र विभागहरू पनि निष्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x