दल

सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरू षडयन्त्रमा लागेका छन् : प्रचण्ड

इकागज |
मंसिर २५, २०८० सोमबार २०:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्था विरोधी शक्तिहरू अत्तालिएको उनको भनाइ थियो ।


काठमाडौँको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकार बनेको बेलादेखि नै सरकारविरुद्ध लागेकाहरू अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए ।

सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उनले बताए । सरकारले युगौँदेखिका सामन्ती उत्पीडनहरूको अन्त्य गर्न मिटरब्याज पीडितहरूका पक्षमा कानुन नै दिएर सामन्ती दलालहरूको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको उनको जिकिर थियो । 

यसैगरी लाखौं लाख नेपाली आमाबुबाका सन्तानले नागरिकता नपाउने पीडाको समेत सम्बोधन गरेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरूको छानबिन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउँदै यी कामहरूबाट व्यवस्था विरोधी शक्तिहरू छटपटिएको बताए ।

अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै क्षेत्रसँग निरन्तर छलफल र संवादको प्रयासमार्फत अर्थतन्त्रमा देखिएको बाह्य र आन्तरिक दबाब कम गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने वातावरण बनाएपछि अराजक तत्वहरू झनै अत्तालिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरू लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने ठोकुवा समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले सामन्ती भूस्वामित्वका कारण सिर्जना भएको सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न समेत सरकारले निर्णायक पहल गरेको बताए ।

नेपालमा सुकुम्बासी समस्यालाई सधैंका लागि अन्त्य गर्न वन तथा भूमि ऐनले अवरोध सिर्जना गरेपछि दुवै ऐन संशोधन गरेर केही समयभित्रै लाखौं लाख सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काममा सरकार अघि बढेको उनले जानकारी दिए ।


Author

थप समाचार
x