दल

एमालेको अभियानमा देखे प्रदीप ज्ञवालीले गाउँ युवाविहीन भएको अवस्था

इकागज |
मंसिर २९, २०८० शुक्रबार १०:४३ बजे

काठमाडौँ- नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । शुक्रबार महाकाली-मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तपुरबाट कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यात्राका क्रममा आफूहरूले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताए । उनले गाउँ बस्तीहरू विस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै उनले जलवायु परिवर्तनको असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको बताए ।


उनले राजधानीमा बसेर सत्ताको भागबण्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गरे । उनले परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत रहेको भन्दै उनले सबै राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिए । उनले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताए ।

‘देश बर्बाद भयो । अब देश बन्दैन भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ । त्यसलाई चिर्ने हाम्रो उद्देश्य थियो । कम्युनिस्ट पार्टीको ७५ औँ वर्षमा छौँ हामी । यो ७५ वर्षको बीचमा कम्युनिस्ट पार्टीले के गर्‍यो र अब २५ वर्षमा के गर्छ भन्ने हो । जनताबाट सुन्ने र सिक्ने अवसर थियो । सारमा हामीले यसलाई सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय भनेका छौँ । यस अवधिमा हामीले २९ वटा ठूला सभा गरेका छौँ, तेह्रथुमको वसन्तपुरसम्म आइपुग्दा' ज्ञवालीले भने 'सयभन्दा बढी साना भेलाहरू गरेका छौँ । विकास सम्बन्धी सर्वदलीय छलफलका कार्यक्रम गरेका छौँ । साथै अरू थुप्रै नेपालको रुपान्तरणकारी योजनाहरूको अवलोकन गर्ने काम गरेका छौँ ।'

'यो समग्र क्रियाकलापबाट एमालेले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको हाम्रो जनतासँगको सम्बन्ध असाध्यै निकट भएको ७ देखि ८ लाख मानिससँग त प्रत्यक्ष भेट गरेका छौँ । अरू १० लाख मानिससँग अप्रत्यक्ष संवाद गरेका छौँ । यो अभियान सकिँदा कुल २५ लाख जनतासँग संवाद गर्नेछौँ । एमालेको लोकप्रियता खस्किएको छ भन्ने भाष्य निर्माण गर्न जुन खोजिएको थियो, कमजोर बन्दैछ र एमालेलाई आधार बनाएर गणतन्त्रप्रति नै मान्छेको आस्था र विश्वास टुट्दैछ भन्ने खालका भ्रमहरू यो यात्राले चिरेको छ' उनले भने 'जनता आफ्ना जनप्रतिनिधिहरू नजिक भएको देख्न चाहने रहेछन् । पहाडमा विकासका प्रचुर सम्भावनाहरू छन् । कृषि र कृषिजन्य उद्योगहरूको असाध्यै ठूलो सम्भावना पहाडी क्षेत्रमा छ, पर्यटनको भण्डार हो, जलश्रोतको भण्डार हो, खानीहरू छन्, यसलाई प्रयोग गर्नेगरी विकासका योजना बढाउनुपर्छ भन्ने हो ।'

'युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए विस्तारै गाउँहरू बस्तीहरू युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् । जलवायु परिवर्तनका असर बढी देख्यौँ । खोनपानीको मुहान सुक्ने, हिउँहरू पग्लिरहेको देख्यौँ । हिमालहरू कालो पहाड बन्दै गएको, ठूला पहिरो गएको छ । अन्य दलहरूलाई पनि राजधानीमा बसेर सत्ताको वाक्क दिक्क लाग्दो लुछाचुँडी र भागबण्डा छोडेर जनतामा आउनुस् । जनतामा ठूलो पीडा छ । सबैले स्वस्थ प्रतिष्पर्धा गरौँ’ उनले भने

उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x