ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरूका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन् । भारतको नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरू नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताए ।
सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिरसमेत गरे । उनले त्यस्ता खालको ध्यान शिविरहरूमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दैअघि बढ्नसक्ने बताए ।
‘मानव जातीले आफ्नो ज्ञानको क्रममा ८ सय वर्ष अगाडि हिमालय पर्वतमालाबाट शुरु यो ध्यान शिविर, जसलाई हामीले हिमालय ध्यान शिविर भनेका छौं । यो एउटा मानव जातिका लागि अद्वितीय उपहार हो । यो ध्यान शिविरमा प्रख्यात हुनुहुन्छ शिव कृपानन्द स्वामी । उहाँले समेत हिमालय क्षेत्रमा आफूले ध्यान गरेर थुप्रै अनुभवहरू प्राप्त गर्नुभएको छ' उनले भने 'नेपालको रसुवा जिल्लाको शिवु गाउँमा एउटा गुफाबाट शुरु भएको यो ध्यान शिविरले आज विश्वका ७० भन्दा बढी मुलुकहरूमा प्रभाव छाडेको छ । र नेपाल पनि त्यसको एउटा भाग बनेको छ । र अहिले भारतको नागपुरमा जुन यो ध्यान शिविर चलिराखेको छ । यो विशेष गरेर हिमालय ध्यान शिविर नै हो ।'
'हिमालय क्षेत्रबाट नै यसको प्रार्दुभाव भएको हुनाले नेपाल एउटा एक किसिमले भन्ने हो भने पेटेन्ड राईट भएको मुलुक पनि हो । त्यसो हुँदा नेपालमा पनि नीति निर्माण गर्ने सांसदहरू, देशलाई नेतृत्व गर्ने मन्त्रीहरू, प्रधानमन्त्रीहरूदेखि सबैले यो ध्यान शिविरमा बस्न आवश्यक छ । र नेपालमा पनि यस्तो ध्यान शिविर सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ' उनले भने 'भोलिका दिनमा नेपालमा पनि विश्वका धेरै मानिसहरूलाई ध्यान शिविरमा हामी सहभागी गराउँदै नेपाल एउटा आफैँमा मेडिटेशन गर्न सबैभन्दा विश्वको सुन्दर ठाउँ पनि हो । मेडिटेशनका लागि उपयुक्त ठाउँहरू नेपालमा छन् । त्यसकारण भोलिका दिनमा हामी नेपालमा पनि एउटा सामुहिक ध्यान शिविरलाई सञ्चालन गर्दै अगाडि बढ्न सक्छौं ।’
गत पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ । ७० राष्ट्रका करिब १ लाख ५० हजार साधकहरूको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया