दल

ठूला भ्रष्टाचारमा शीर्ष नेताहरूको हात छ : शेखर कोइराला

इकागज |
पुस १२, २०८० बिहीबार १९:४० बजे

फिदिम- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको उल्लेख गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे ।

‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ उनले भने, ‘एनसेल खरिदबिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला ठूला भ्रष्टाचार गरेको नेता कोइरालाले उल्लेख गरे । 


पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए । देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको भनाइ थियो । 

अहिलेको सरकारले देशलाई बरबाद गरेको उनले जिकिर गरे । ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’
 
देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरू पनि मिटरब्याजी भएको उल्लेख गरे । उद्योगी र बैंकर्स एउटै व्यक्ति हुनु नहुने कोइरालाले उल्लेख गरे । ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठीक हैन ।’


Author

थप समाचार
x