बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग
काठमाडौँ- बालकुमारी हिंसामा दुई जनाको मृत्युपछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएकोसमेत छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग रहेको छ ।
`कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात् प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,` कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, `नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।´
घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ ।
साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल समेत गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।
कोरिया पीडित युवाहरूले गरेको प्रदर्शनको क्रममा भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि बालकुमारी, ललितपुरमा प्रदर्शन भड्किएको थियो ।
स्थिति नियन्त्रण लिनका लागि प्रहरीले चलाएको गोली लागि २ जनाको मृत्यु तथा दर्जनौं घाइते भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया