दल

राष्ट्रयसभामा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र :  कांग्रेस नेता महर

इकागज |
पुस १९, २०८० बिहीबार १२:३८ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका छन्।काठमाडौँमा भ्रातृसंस्थाका नेताहरूको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दुखद भएको बताए।

बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव राखेको सुनाएका थिए। प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै कुर्सी प्राप्तिका लागि मुलुकमा प्रमुख प्रतिपक्षी नै नरहने अवस्था सिर्जना हुन खोजेको भन्दै महरले चिन्ता व्यक्त गरेका छन्।


महरले अहिले नेताहरूमा दोधारे चरित्र देखिन खोजेको आरोप लगाए। ‘विकास, समृद्धि र सुशासनका लागि नेताहरू एक ठाउँमा आउनु स्वागतयोग्य कुरा हो,’ उनले भने, ‘तर, विकास र समृद्धिमा सधैँ नेताहरूमा मतभेद पाइन्छ। कुर्सी र सत्ता प्राप्तिका लागि भने जस्तो सुकै सम्झौता गर्न राजनीतिक दल पछि हट्दैनन्। यो लोकतन्त्रका लागि लज्जाको विषय हो। जनभावना विपरीतको विषय हो। अझभन्दा यो दूरासययुत्त विषय हो । 

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेताहरूको चर्को आलोचना भइरहेको हो। चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको अश्वभाविक दौडधुप बढ्नु र सत्ता गठबन्धनका नेताहरूले पनि अनावश्यक छलफल गर्नु लोकतन्त्रको मर्म विपरीत भएको महरले बताए। ‘एमालेको प्रस्तावमा सत्ता गठबन्धनले अनावश्यक छलफललाई सघन बनाउनुको कारण के होला? आरामदायी बहुमत रहेको गठबन्धन लोकतन्त्रको मर्म अनुरूप चल्नुपर्छ,’ उनले भने । 

फागुन २० गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुने छ। एक सिटमा भने राष्ट्रपतिले मनोनयन गर्ने छन्। सत्ता गठबन्धन एक रहेसम्म एमालेले अहिले रिक्त हुन लागेको सिटमा एक पद पनि जित्न सक्ने अवस्था छैन। त्यसैले एमालेले दलहरूलाई विभिन्न प्रस्ताव राखेको छ।


Author

थप समाचार
x