एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा
फाइल फोटो
स्याङ्जा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।
कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन् ।
“संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उनले भने, “बहुमत पुर्याउन कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।”
कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए । अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उनको भनाइ थियो ।
कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उनले भने, “कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”
नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो । जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया