दल

समुदायमा कांग्रेस र संवाद यात्रा झापाबाट सुरु

'पार्टीप्रतिको गुनासो सुन्ने र आम समुदायको समस्या बुझ्ने यात्रा'

इकागज |
माघ १३, २०८० शनिबार १७:३४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको चित्रपुरस्थित मेची पुलबाट संवाद यात्रा सुरु गरेका छन् ।​ कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सञ्चालन गर्ने समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री थापाले संवाद यात्रा शुभारम्भ गरेका हुन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत संवाद यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकास शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेल लगायतका नेताहरू सहभागी भएका छन् । नेपाल–भारत सिमानाका मेची नदी किनारमा वृक्षरोपण गरी नेपाली कांग्रेसको झण्डा महामन्त्री थापालाई हस्तान्तरण गरेर संवाद यात्रा शुभारम्भ गरिएको छ ।


संवाद यात्राका क्रममा समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासाहरू सुन्ने, स्थानीय स्तरमा भएका सेवा प्रवाहको अवस्था र विकास निर्माणको अवलोकन साथै पार्टीका बारेमा जनतासँग खुला छलफल र अन्तरक्रिया गरिने उद्देश्य रहेको बताइएको छ । संवाद यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशभरका वडाहरूमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि भन्दै पार्टीले संवाद यात्राको सुरुआत गरेको जानकारी दिए ।

महामन्त्री थापाले आफूहरू भुईँमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समुदायमा कांग्रेस अभियानले कांग्रेसलाई बदल्ने र बलियो कांग्रेस बनाउने संकल्प पूरा हुने बताए ।

त्यस्तै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसको सम्पूर्ण क्षमता र समर्पण जनताका लागि भएको बताए ।

संवाद यात्राको शुभारम्भसंगै महामन्त्री थापाले हुलाकी राजमार्ग आसपास क्षेत्रका आम नागरिकहरूसँग विभिन्न जनसरोकारका विषयहरूमा खुला संवाद थालेका छन् । महामन्त्री थापाले शनिबार नै मेची प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, हल्दीबारी गाउँपालिकास्थित कन्चनश्रीमा जंगली हात्ती प्रभावित क्षेत्रका स्थानीयहरूसँग हात्तीको समस्याबारे छलफल समेत गरे ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी यही माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो । 


Author

थप समाचार
x