दल

महामन्त्री थापा र शर्मा आफ्नै अभियानमा लाग्दा पार्टीको अभियानमा परेनन्

इकागज |
माघ १४, २०८० आइतबार १४:३२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’मा महामन्त्रीद्वयकाे नाम अटाएन । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान माघ १६ देखि २६ गतेसम्म गर्ने भएको छ । तर, पार्टीले देशभरी चलाउने अभियानमा दुई महामन्त्रीको नाम अटेन । 

सबै वडामा एकै पटक कांग्रेस पुग्न थालेको अभियानमा दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नाम समावेश छैन । विभिन्न जिल्लाका फरक-फरक समुदायमा कांग्रेसलाई पुर्याउँन र सार्थक संवाद गर्न टोली खटाएको छ ।


तर, महामन्त्री गगनकुमार थापाले समुदायमा कांग्रेस अभियान चलाइसकेका छन् । उनले माघ १३ गतेबाट अभियान सुचारु गरिसकेका छन् । उनी हुलाकी राजमार्ग अन्तर्गत रहेका जिल्लाका स्थानीय नेतासँग भेटघाट र छलफल गर्ने छन् ।

अहिले यो समाचार तयार पारिरहँदा भने समुदायमा कांग्रेस अभियानमा नै छन् । तर, उनकै पार्टीले भने समुदायमा कांग्रेस अभियान चलाउँदा उनको नाम अटाउन सकेन ।

अभियानकालागि आइतबार जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महामन्त्रीद्वयको नाम किन समावेश भएन भन्ने इकागजको प्रश्‍नमा उनले भने,’ समुदायमा कांग्रेस अभियानको सबै नाम महामन्त्री विश्वप्रकास शर्माले तयार पारेर दिनुभएकाे हाे। किन नाम अटाएन यो सबै उहाँलाई थाहा होला ।‘

यसै सन्दर्भलाई लिएर समुदायमा कांग्रेस अभियानमा  महामन्त्रीद्वय किन अटाएनन् भनेर महामन्त्री विश्‍वप्रकाश शर्मालाई प्रश्‍न गर्न खाेज्दा उनकाे फोन सम्पर्क भए पनि उठेन ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका महामन्त्री शर्मा पनि छन् । थापाले शनिबार बिहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गरेका हुन् ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले 'संवाद यात्रा' गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

 महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् । महामन्त्री थापाले शनिबार बिहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गरे। थापाको संवाद यात्रा कांग्रेसका नेता–कार्यकर्ता मात्र भेट्ने नभएर आमनागरिकसँग संवाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

थापाले बुधबार बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने, ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, कन्जीबारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा २६ माघमा सकिनेछ ।

सबै वडामा एकै पटक कांग्रेस पुग्न काँग्रेसले पनि अभियान थालेको छ ।

अभियानलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न काँग्रेसले फरक-फरक टोली खटाएको छ । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन् । 


तोकिएका जिल्लाहरूमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन् ।

 


Author

थप समाचार
x