प्रधानमन्त्री दाहालले सहिदहरूको अवमूल्यन गरेः डा. शेखर
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरूको अवमूल्यन हुने काम गरेको आरोप नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले लगाएका छन् ।
मंगलबारबाट सुरु भएको सामुदायमा काँग्रेस अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले सहिदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीजीले ३ हजार थप सहिद थप्ने कुरा गर्नु भयो। सहिद दिवसका दिन हामीले सहिदहरूलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ,'प्रजातन्त्रका निम्ति बलिदानी दिएका सहिदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, 'सहिद दिवसका दिन हामीले सहिदको अवमूल्यन गर्नु भएन । त्यसमा ध्यान दिनु आवश्यक छ। सहिदको वास्तविक परिभाषालाई अंगीकार गरि अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । सहिदको संख्या थप्दै गर्दा सहिद नै अपमान हुने बुझेको छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए ।
त्यसैगरि, कार्यक्रममा नेता कोइरालाले काँग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरुपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए । जापानको सहयोगी संस्था जाईकाले महानगरभित्र विच्छाइएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे ।
त्यसैगरि, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए । उनले भने, ‘प्रदेश सरकारले यस क्षेत्रमा करिडोर निर्माण गर्नेछ । यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुँदा अब केही समय धैर्य गरिदिन आग्रह छ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया