कोशी सरकारले नेताहरूको सेवासुविधा थप गर्ने कुराले पीडाबोध गरायो : शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारले नेताहरूको सेवासुविधा थप्ने गरी ल्याएको अध्यादेशको विरोध गरेका छन् ।
मंगलबार विराटनगर महानगरपालिका वडा नं. ७ मा समुदायमा कांग्रेस अभियानको सुरुवात गर्दै कोइरालाले मुलुकको आर्थिक अवस्था जर्जर भइरहेको बेला नेताहरूलाई सेवासुविधा थप्ने भन्दा पनि घटाउनुपर्ने बताए । नेता कोइरालाले मुलुकको अर्थतन्त्र चरम संकटमा परेका कारण कतिपय उद्योगधन्दा, कलकारखाना तथा संस्थाहरू बन्द हुने अवस्थामा पुगेको बेला सांसदहरूलाई सेवासुविधा थप गर्ने कुराले पीडाबोध गराएको बताए ।
उनले मुलुकको आर्थिक अवस्थाबारे सबै राजनैतिक दलहरू संवेदनशील बन्नुपर्ने बताउँदै मुलुकमा आर्थिक संकटका साथै आर्थिक अपराध पनि बढ्दै गएको धारणा राखे ।
कोइरालाले मुलुकको प्रधानमन्त्रीबाटै ३ हजार सहिद थप्ने कार्यले सहिदहरूको अवमूल्यन हुने जिकिर गरे । कार्यक्रममा सहभागीहरूले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तलाई व्यवहारमा परिणत गर्न नसकेको गुनासो गरेका थिए । उनीहरूले स्थानीय समस्याहरू समाधान गर्न अनुरोध गर्दै कांग्रेसलाई आफ्नो कमीकमजोरी सच्याएर हिँड्न आग्रह समेत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया